- थवाङ-५ कोटलबारामा पहिरोमा परी बेपत्ता भएकामध्ये ७१ वर्षीया मनरखी पुन मगरको शव फेला ।
- पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो ।
- प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायको टोली घटनास्थलमा, बेपत्ताको खोजी जारी ।
रोल्पा । थवाङ गाउँपालिका-५ कोटलबारामा गए राति अविरल वर्षापछि गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव घटनास्थलबाट फेला परेको हो ।
प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । पहिरोमा १० जना बेपत्ता भएको जनाइए पनि प्रहरीले सार्वजनिक गरेको विवरणमा ४० वर्षीया जुनकुमारी पुन मगर, नौ वर्षीय अशिम पुन मगर, छ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर गरी नौ जनाको नाम उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थलमा पुगेर बेपत्ताको खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
