RayNewsDaily
नरभक्षी बाघ नियन्त्रणमा, सौराहाको खोरमा लगियो
  • बाघको आक्रमणबाट ६५ वर्षीय मङ्गले बोटेको मृत्यु ।
  • डार्ट गरी बाघलाई नियन्त्रणमा लिइयो ।
  • चितवनका खोरमा नियन्त्रणमा लिइएका बाघको सङ्ख्या सात पुग्यो ।

नारायणगढ (चितवन) । भरतपुर महानगरपालिका-२८ जितपुरका ६५ वर्षीय मङ्गले बोटेलाई आक्रमण गरी ज्यान लिएको बाघलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरमा लगिएको छ ।

प्रहरीका अनुसार आज बिहान मङ्गले सोही स्थानका ५५ वर्षीय जीवन बोटेसँगै मर्निङवाकमा निस्किनुभएको थियो । केही समयपछि उहाँ सम्पर्कविहीन भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर खोजी सुरु गरेको थियो । बाघले आक्रमण गरेको हुनसक्ने देखिएपछि नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा हात्ती परिचालन गरी खोजी तीव्र पारिएको थियो ।

खोजीका क्रममा घटनास्थलबाट करिब चार-पाँच किलोमिटर पूर्व राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरेको अवस्थामा एक जनाको शव फेला परेको थियो । उक्त शव मङ्गले बोटेको भएको उहाँका छोराले सनाखत गरेका थिए ।

शव फेला परेपछि बाघको खोजीलाई थप तीव्र पारिएको थियो । सोही क्षेत्रमा बाघ देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत वन्यजन्तु प्राविधिकले डार्ट गरी नियन्त्रणमा लिएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नियन्त्रणमा लिइएको बाघ भाले हो र अन्दाजी सात-आठ वर्षको देखिन्छ । उहाँका अनुसार बाघ स्वस्थ देखिए पनि भित्री स्वास्थ्य अवस्थाबारे परीक्षण तथा निगरानीपछि मात्र यकिन हुनेछ ।

नियन्त्रणमा लिइएको बाघलाई सौराहास्थित खोरमा राखिएको छ ।

यससँगै चितवन राष्ट्रिय निकुञ्जका खोरमा विभिन्न कारणले नियन्त्रणमा लिइएका बाघको सङ्ख्या सात पुगेको छ । तीमध्ये पाँच भाले र दुई पोथी छन् । अधिकांश बाघ मानिसमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिइएका हुन् । एउटा बाघ बाँकेबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर राखिएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update