लालबकैया खोलामा नुहाउने क्रममा तीनजना बालबालिका बेपत्ता   

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउनेक्रममा आज तीनजना बालबालिका वेपत्ता भएका छन् ।    
    
 दिउँसो करिब २ः०० बजे सो खोलामा नुहाउने तथा पौडी खेल्नेक्रममा बेपत्ता भएका बालबालिकाको खोजीकार्य जारी रहेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।    
    
 जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार स्थानीय करमे आलमका छोरा रमतुलाह, हिसी अकतरकी छोरी सबनम खातुन र शेख खुर्सैदकी छोरी रौशन खातुन वेपत्ता भएका हुन् । सबै १० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ ।    
    
 सो घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा सात जना प्रहरी र जिल्लास्थित सशस्त्र प्रहरी बलका १४ जनाको टोली उद्धारकार्यमा प्रयोग गरिने ‘रबर बोट’सहित घटनास्थलमा परिचालित भएपनि हराएका बालबालिकाको अवस्था अज्ञात रहेको छ ।    
    
 राससका अनुसार  बेपत्ता बालबालिकाको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीसहित स्थानीयले खोजतलास जारी छ । घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब छ किलोमिटर दक्षिणमा रहेको र सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update