- उपत्यकाका नदी तथा वातावरण स्वच्छ राख्न थप ढल प्रशोधन केन्द्र आवश्यक ।
- सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण जारी ।
- फोहर पानी र वर्षाको पानी छुट्टाछुट्टै पाइपबाट प्रशोधन गर्न स्थानीय तहसँग समन्वय ।
काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ ।
केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा थप ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ । सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण जारी रहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न थप ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने उहाँको भनाइ छ । त्यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।
बालुवा, इँटा र मरेका जनावरलगायतका फोहर प्रशोधन गर्न कठिन हुने गरेको छ । ढलको फोहर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा यस्तो समस्या हुने गरेको केन्द्रका प्रमुख श्रेष्ठले बताउनुभयो । रासस
