RayNewsDaily
एकै दिन ४१ वटा विपद्का घटना, २० जना घाइते
सर्पदंशपछि उपचाररत महिला ।
  • एकै दिन देशभर ४१ विपद्का घटना, २० जना घाइते ।
  • सर्पदंशका २० र आगलागीका नौ घटना, रु. ३८ लाखभन्दा बढी क्षति ।
  • वैशाखदेखि साउन २४ सम्म ४ हजार ४५२ विपद्का घटना, २०५ जनाको मृत्यु ।

रे समाचार/काठमाडौँ । साउन २३ गते बिहान १० बजेदेखि २४ गते बिहान १० बजेसम्म देशभर ४१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २० जना घाइते भएका छन् ।

उक्त अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, अतिवृष्टिका दुई तथा चट्याङ र वन्यजन्तु आक्रमणका एक–एक घटना भएका छन् । विपद्का घटनामा उद्धार तथा राहतका लागि १७३ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

सर्पदंशका घटनामा २० जना घाइते भएका छन् । विपद्का घटनाबाट अनुमानित रु. ३८ लाख ४७ हजार ५०० बराबरको क्षति भएको छ भने चार स्थानमा सडक अवरोध र एउटा चौपायाको ज्यान गएको छ ।

यसैबीच, गत वैशाख १ गतेदेखि साउन २४ गतेसम्म देशभर चार हजार ४५२ वटा विपद्का घटना भएका छन् । ती घटनामा २०५ जनाको मृत्यु, पाँच जना बेपत्ता र एक हजार ३४७ जना घाइते भएका छन् भने पाँच हजार ४९२ परिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update