- कपिलवस्तुका पूर्वनगर प्रमुख किरण सिंह जङ्गलमा मृत फेला ।
- शुक्रबारदेखि बेपत्ता सिंहको मोटरसाइकल शनिबार नै भेटिएको थियो ।
- घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ ।
रे समाचार/तौलिहवा । कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख किरण सिंह मृत अवस्थामा फेला पर्नुभएको छ । गत शुक्रबारदेखि बेपत्ता सिंहको शव आइतबार जङ्गल क्षेत्रमा उहाँले प्रयोग गर्ने मोटरसाइकल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा सिंहको शव फेला पारेको हो । उहाँले प्रयोग गर्दै आउनुभएको मोटरसाइकल भने शनिबार नै फेला परेको थियो ।
६५ वर्षीय सिंह कपिलवस्तु नगरपालिका-३ स्थित आफ्नै घरबाट शुक्रबार दिउँसो करिब २ बजे निस्किनुभएको थियो । चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रमा रहेको सिसिटिभी फुटेजमा उहाँ दिउँसो ३ः२७ बजे रामराज पुलतर्फ गएको देखिएको प्रहरीले जनाएको छ ।
रामराज पुल पुगेपछि केही समयमै सिंहले आफूनिकट व्यक्तिलाई मोबाइलमार्फत आफू जङ्गलमा बाटो बिराएको जानकारी गराउनुभएको थियो । त्यसपछि आफन्त तथा स्थानीयले उहाँको खोजी सुरु गरेका थिए ।
खोजीका क्रममा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जङ्गल क्षेत्रमा उहाँले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल शनिबार फेला परेको थियो । त्यसपछि प्रहरी, आफन्त र स्थानीयको टोलीले सोही क्षेत्रमा खोजीलाई निरन्तरता दिएको थियो ।
मोटरसाइकल रहेको स्थान नजिकै सिंहको शव आज फेला परेको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
