RayNewsDaily
ग्यासको कालोबजारी रोक्न बजार अनुगमन तीव्र
वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेतस्थित सगरमाथा ट्रेडर्स एण्ड सप्लायर्समा आइतबार खाना पकाउने एलपी ग्यासका लागि सिलिण्डरसहित लामवद्ध बसेका उपभोक्ताहरु । ग्यास किन्न बिहान २ बजेबाटै लाइनमा बसेको उनीहरु बताउँछन् । तस्वीरः शुरबहादुर सिंह/ रासस
  • एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन तीव्र ।
  • आपूर्ति सहज बनाउन काठमाडौँ उपत्यकाका ग्यास डिपोमा सुरक्षाकर्मी परिचालन ।
  • महँगो मूल्यमा ग्यास बिक्री गर्ने गतिविधि नियन्त्रणमा सरकार केन्द्रित ।

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ ।

भारतबाट ग्यास आयातमा कुनै समस्या नरहेको अवस्थामा बजारमा एकाएक अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमन कडाइ गरिएको हो ।

गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका ग्यास डिपो तथा बिक्री केन्द्रमा अनुगमनलाई निरन्तरता दिइएको उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजार अनुगमनलाई प्रभावकारी बनाइएसँगै ग्यासको आपूर्तिमा क्रमशः सहजता आउन थालेको छ । आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा ग्यास बिक्री गर्ने गतिविधि नियन्त्रणमा सरकार केन्द्रित रहेको उहाँले बताउनुभयो ।

ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई सहज बनाउन उद्योगमन्त्री गौरीकुमारी यादवले गृहमन्त्री सुधन गुरुङसँग काठमाडौँ उपत्यकाका डिपोमा सुरक्षाकर्मी परिचालन गरी अनुगमनमा सहजीकरण गर्न आग्रह गर्नुभएको थियो ।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update