- ट्राफिक प्रहरीको बोली र व्यवहार सुधार्न सभापति गजुरेलको निर्देशन ।
- सडक सुरक्षामा ‘फेसलेस ट्राफिक’ र प्रविधिको प्रयोग बढाउनुपर्ने ।
- जरिवाना असुलीभन्दा दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको पहिलो प्राथमिकता हुनुपर्ने ।
रे समाचार/काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीको बोली, व्यवहार र कार्यशैलीमा सुधार आवश्यक रहेको बताउनुभएको छ । उहाँले ट्राफिक प्रहरीलाई नागरिकसँग नम्र व्यवहार गर्न, बोलीमा शुद्धता कायम गर्न र आर्थिक अनुशासन पालना गर्न निर्देशन दिनुभएको छ ।
‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा सभापति गजुरेलले केही ट्राफिक प्रहरीले गरेको गल्तीका कारण समग्र संगठनले बदनामी भोग्न नहुने बताउनुभयो ।
ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री तथा आवश्यक सेवा–सुविधासहित अधिकारसम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै उहाँले नागरिकसँगको व्यवहार र कर्तव्य निर्वाहमा पनि सुधार आवश्यक रहेको बताउनुभयो ।

ट्राफिक नियम उल्लङ्घनमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गर्ने विषयमा छलफल भइरहेको भए पनि त्यस्तो व्यवस्था हाल कार्यान्वयनमा नआएको उहाँले स्पष्ट पार्नुभयो । काठमाडौँलगायत विभिन्न स्थानमा बाहिरबाट आउने नागरिकलाई ट्राफिक नियमबारे पर्याप्त जानकारी नहुन सक्ने भन्दै उहाँले देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ट्राफिक प्रहरीलाई आग्रह गर्नुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्न नसकिने बताउनुभयो ।
उहाँले ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सडक सुरक्षा सुधारका लागि ‘थ्री ई’ अर्थात् इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनै पक्षलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।
सडकको डिजाइन तथा पूर्वाधार सुधारसँगै विद्यालय तहदेखि नै ट्राफिक शिक्षालाई पाठ्यक्रममा समेट्नुपर्ने उहाँले बताउनुभयो ।
ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको स्पष्ट पार्दै एसएसपी काफ्लेले नेपालमा दैनिक औसत आठ जनाको सडक दुर्घटनामा मृत्यु हुने र करिब ७५ जना गम्भीर घाइते हुने अवस्था रहेको जानकारी दिनुभयो ।
