RayNewsDaily
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति पौडेल
बत्तिसौँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : रासस
  • विविधताबीचको एकताले राष्ट्रिय अखण्डता बलियो बनाउने राष्ट्रपति पौडेलको भनाइ ।
  • नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता आवश्यक ।
  • परम्परागत ज्ञान र सीपलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिनुपर्नेमा जोड ।

रे समाचार/काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीचको एकताले राष्ट्रिय अखण्डतालाई बलियो बनाउने बताउनुभएको छ । उहाँले सबै समुदायको हक, अधिकार र हित सुनिश्चित गर्दै आपसी सद्भाव कायम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बत्तिसौँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले संविधानले विविधतामा एकतालाई आत्मसात् गर्दै सबै समुदायको हक र हित सुनिश्चित गरेको बताउनुभयो ।

उहाँले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभयो । आदिवासी जनजातिको जल, जमिन र प्राकृतिक स्रोतसँग अटुट र आध्यात्मिक सम्बन्ध रहेको उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले राज्यको नीतिनिर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताउनुभयो । पछिल्लो तथ्याङ्कअनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत रहेको उल्लेख गर्दै उहाँले शिक्षामा पहुँच विस्तार गरी अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको उहाँले बताउनुभयो । आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र र जैविक विविधता महासन्धिप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको उहाँको भनाइ थियो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि आदिवासी जनजातिको हक, हितको संरक्षण र संवद्र्धनका लागि संविधानमा आदिवासी जनजाति आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आयोगले उनीहरूको इतिहास, भाषा र संस्कृतिको संरक्षण तथा सशक्तीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले तराई-मधेसको विकास र त्यहाँ रहेका आदिवासी समुदायको न्याय तथा अधिकार सुनिश्चित नगरी समृद्ध नेपाल निर्माण सम्भव नहुने बताउनुभयो । विगतका द्वन्द्व र असन्तुष्टिलाई लोकतान्त्रिक संवाद तथा संवैधानिक प्रक्रियामार्फत समाधान गर्दै दिगो शान्ति र सामाजिक सद्भाव कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले आदिवासी जनजातिमा रहेको परम्परागत ज्ञान, सीप र प्रविधिलाई व्यावसायिक रूपान्तरण गरी आर्थिक सशक्तीकरण गर्नुपर्ने बताउनुभयो । ओपन एयर लिभिङ म्युजियमजस्ता अवधारणामार्फत आदिवासी संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिन सकिने उहाँको भनाइ थियो ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update