- सरकार भन्छ- आयात बढेकाले ग्यास आपूर्ति सहज हुँदैछ ।
- बजारमा पूर्ण सिलिन्डरको माग बढ्दा अझै असन्तुलन ।
- उपभोक्ताका ५०० भन्दा बढी गुनासा क्विक रेस्पोन्स टिमले सम्बोधन गर्यो ।
रे समाचार/काठमाडौँ । सरकारले ग्यासको आयात र आपूर्ति बढेकाले बजारमा देखिएको अभाव क्रमशः हट्दै गएको बताएको छ । तर पूर्ण सिलिन्डरको माग बढेसँगै कतिपय स्थानमा उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन नसकेको अवस्था छ ।
नेपाल आयल निगमका अनुसार पछिल्लो समय भारतबाट ग्यासको आयात निरन्तर बढिरहेको छ । निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले मागअनुसार ग्यास उपलब्ध गराउन आपूर्ति बढाइएको र अहिले अभावको समस्या कम हुँदै गएको बताउनुभयो ।
उहाँका अनुसार अहिले पनि इन्डियन आयल कर्पोरेसनको रिफाइनरीबाट दैनिक एक सयभन्दा बढी बुलेट ग्यास लोडिङ भएर नेपाल आइरहेका छन् । ७.१ किलोग्रामबाट १४.२ किलोग्रामको पूर्ण सिलिन्डरमा सिफ्ट हुँदा केही समस्या देखिएको भन्दै उहाँले बढीमा एक साताभित्र बिक्री वितरण सामान्य हुने बताउनुभयो ।
गत फागुन २९ गतेदेखि निगमले पश्चिम एसियामा विकसित परिस्थितिलाई दृष्टिगत गर्दै ७.१ किलोग्राम ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने व्यवस्था गरेको थियो । त्यसपछि असार ३१ गतेदेखि पुनः १४.२ किलोग्रामको पूर्ण सिलिन्डर बिक्री गर्न थालेपछि माग एक्कासी बढ्दा बजारमा अभाव देखिएको उद्योगीको भनाइ छ ।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पछिल्लो चार महिनामा आधा सिलिन्डर बिक्री हुँदा आयातमा कमी आए पनि अहिले आयातको परिमाण निरन्तर बढिरहेकाले बिक्री वितरण सहज हुँदै गएको बताउनुभयो । उहाँले उपभोक्तालाई ग्यासको अनावश्यक सञ्चिती नगर्न आग्रह गर्नुभयो ।
निगमका अनुसार गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको थियो । चालु आवको साउनको पछिल्लो २२ दिनमै ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भइसकेको छ । यस आधारमा चालु साउनमा करिब ५४-५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ ।
सरकारले ठूला चाडपर्व नजिकिँदै गर्दा ग्यासको अभाव हुन नदिन तीन महिनाका लागि आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक पहलसमेत गरिरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभएको छ ।
यता, ग्यासको बिक्री वितरण सहज बनाउन मन्त्री यादवसहित निगमका उच्च अधिकारीले उद्योग तथा डिलरको अनुगमनलाई तीव्र पारेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा कृत्रिम अभाव र कालोबजारी नभेटिएको निगमले जनाएको छ ।
ग्यास नपाएको भन्दै उपभोक्ताबाट आएका ५०० भन्दा बढी गुनासालाई निगममा गठित क्विक रेस्पोन्स टिमले सम्बोधन गरिसकेको छ । वाणिज्य मन्त्रालय, निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी उक्त टोलीले ग्यास उपलब्धताका लागि उपभोक्तालाई सहजीकरण गर्दै आएको छ ।
नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् । ती उद्योगमा १० हजार १६६ मेट्रिक टन ग्यास भण्डारण क्षमता तथा दैनिक एक करोड ७५ लाख सिलिन्डर फिलिङ क्षमता रहेको छ ।
