RayNewsDaily
नियमित कोटाको रासायनिक मल वितरण सुरु

• धनुषा र महोत्तरीमा मल वितरण सुरु ।
• डिएपी र युरियाको नियमित कोटा वितरण ।
• मल अभाव विस्तारै हट्दै ।

जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले धनुषा र महोत्तरीमा नियमित कोटाको डिएपी र युरिया मल वितरण सुरु गरेको छ । धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला कम्पनीले दोस्रो चरणअन्तर्गत मल वितरण थालेको हो ।

मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साउन ११ गतेको निर्णयअनुसार धनुषाका लागि ९७९ मेट्रिक टन डिएपी र ९२६ मेट्रिक टन युरिया तथा महोत्तरीका लागि ९३१ मेट्रिक टन डिएपी र ८८० मेट्रिक टन युरिया वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिनुभयो ।

वीरगञ्जस्थित प्रादेशिक कार्यालयबाट मल ढुवानी भएसँगै स्थानीय तहको सिफारिसका आधारमा जिल्लामा वितरण सुरु गरिएको साहले बताउनुभयो ।

थप डिएपी र युरिया प्राप्त भएपछि जिल्लामा केही समयदेखि देखिएको मल अभाव विस्तारै हट्दै गएको उहाँको भनाइ छ । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम, धनुषामा हाल २ दशमलव ६ मेट्रिक टन युरिया मौज्दात रहेको उहाँले जानकारी दिनुभयो ।

सुनसरी र सिरहामा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञाका कारण केही दिन मल ढुवानी प्रभावित भए पनि अहिले ढुवानी पुनः सुरु भएकाले आपूर्ति सहज हुँदै गएको साहले बताउनुभयो । रासस

 

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update