• १० वर्षीय छोरासँगै साइमनको साइकल यात्रा ।
• काँकडभित्ताबाट सुरु भएको यात्रा हेटौँडा आइपुग्यो ।
• १५-२० दिनमा यात्रा पूरा गर्ने लक्ष्य ।
बागमती । पोखराका ३७ वर्षीय साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची-महाकाली साइकल यात्रामा निस्किएर हेटौँडा आइपुग्नुभएको छ । काँकडभित्ताबाट साउन १६ गते यात्रा सुरु गर्नुभएका बाबुछोरा सातौँ दिन हेटौँडा आइपुग्नुभएको हो ।
साइमनले आजै हेटौँडाबाट चितवनतर्फको यात्रा अघि बढाउने जानकारी दिनुभयो । उहाँहरूलाई हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरसहित पदाधिकारी तथा सदस्यले हेटौँडामा स्वागत गर्नुभयो ।
बाल्यकालदेखि नै साइकल यात्रा गर्दै आउनुभएका साइमनले छोरा ग्रावियलको मेची-महाकाली साइकल यात्रा गर्ने इच्छाअनुसार यात्रामा निस्किएको बताउनुभयो । ग्रावियल पोखरास्थित शुभकामना विद्यालयमा कक्षा ४ मा अध्ययनरत हुनुहुन्छ ।
यात्रा निश्चित दिनमा पूरा गर्ने लक्ष्य नरहेको भए पनि करिब १५-२० दिनमा मेची-महाकाली यात्रा पूरा गर्ने योजना रहेको साइमनले बताउनुभयो । रासस
