• तीनवटै प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व ।
• कुमार नगरकोटी, एरिणा ताम्राकार र ब्रजेश खनाल कुलपति नियुक्त ।
• उपकुलपति, सदस्य-सचिव र परिषद् सदस्यसमेत मनोनयन ।
रे समाचार/काठमाडौँ । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्रीले मिति २०८३ साउन २० गतेको निर्णयअनुसार तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य-सचिव र परिषद् सदस्य मनोनयन गर्नुभएको हो ।


नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी, उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ र सदस्य-सचिवमा रूपन्देहीका रोशन शेरचन नियुक्त हुनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार, उपकुलपतिमा चन्द्र श्याम डङ्गोल र सदस्य-सचिवमा दोलखाका कैलाशकुमार श्रेष्ठ मनोनीत हुनुभएको छ ।
यस्तै, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा काठमाडौँका ब्रजेश खनाल, उपकुलपतिमा ताप्लेजुङकी झुमा लिम्बू वनेम र सदस्य-सचिवमा मोरङका भूपेन्द्रसिंह रायमाझी नियुक्त हुनुभएको छ ।
