RayNewsDaily
वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, यात्रामा सावधानी अपनाउन आग्रह

रे समाचार/काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले पहिरो, सडक कटान र बाढीको जोखिम कायम रहेकाले यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

प्रहरीले आज बिहान ५:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएको जनाएको छ ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६:०० देखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४:०० देखि बेलुका ६:०० बजेसम्म भने सवारी सञ्चालन हुनेछ ।

कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५:०० देखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ राजदुवालीमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड बन्द भएका छन् । दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि लामासाँघु-रामेछाप सडकखण्ड पनि अवरुद्ध भएको छ । त्यहाँ वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।

यसैगरी, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म-गमगढी सडक, बागलुङको कालीगण्डकी करिडोर, रुकुम पश्चिमको भेरी करिडोर, मुस्ताङको बेनी-जोमसोम सडकखण्ड तथा म्याग्दीको बेनी-जोमसोम सडकका दुई स्थानमा पनि पहिरो र सडक कटानका कारण यातायात अवरुद्ध भएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका-४ लेखस्थित मदन भण्डारी सडकखण्ड पनि सुक्खा पहिरोका कारण बन्द रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update