- मधेसमा पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी ।
- महोत्तरीमा सबैभन्दा धेरै ३५ वटा ट्रान्सफर्मर चोरी ।
- ट्रान्सफर्मर अभावले सिँचाइ प्रभावित, किसान समस्यामा ।
जनकपुरधाम । जनकपुरधाम, २२ साउनः मधेस प्रदेशमा पछिल्ला पाँच वर्षमा ट्रान्सफर्मर चोरीका घटना बढ्दै जाँदा किसान प्रत्यक्ष प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार यस अवधिमा प्रदेशका आठ जिल्लाबाट ९९ वटा ट्रान्सफर्मर चोरी भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार ट्रान्सफर्मरभित्र रहेको तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीका घटना बढिरहेका छन् ।
सबैभन्दा धेरै महोत्तरीबाट ३५ वटा ट्रान्सफर्मर चोरी भएका छन् । त्यसपछि बाराबाट १५, धनुषाबाट १४, रौतहटबाट १०, सर्लाही र सिरहाबाट नौ-नौ, सप्तरीबाट तीन र पर्साबाट दुई वटा ट्रान्सफर्मर चोरी भएका छन् । चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभीएदेखि २०० केभीएसम्म रहेको छ ।
ट्रान्सफर्मर चोरीका कारण सिँचाइ प्रभावित हुँदा किसानले समयमै खेतमा पानी लगाउन नपाएको गुनासो गरेका छन् । उनीहरूले दोषीलाई पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी तथा दोषीको पहिचानका लागि अनुसन्धान भइरहेको बताउनुभयो । रासस
