- सन् २०५० सम्मका लागि उपत्यकाको यातायात गुरुयोजना सार्वजनिक ।
- मास ट्रान्जिट, अन्डरपास र भूमिगत मार्ग निर्माणमा जोड ।
- २२ पूर्वाधार र १३ सार्वजनिक यातायात सुधार कार्यक्रम प्रस्ताव ।
काठमाडौँ । काठमाडौँ, २१ साउनः काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित दीर्घकालीन यातायात गुरुयोजना सार्वजनिक गरिएको छ । योजनाले सन् २०५० सम्म उपत्यकाको यातायात प्रणालीलाई आधुनिक, प्रभावकारी र यात्रुमैत्री बनाउने लक्ष्य लिएको छ ।
‘जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले उपत्यकाको पूर्व-पश्चिम तथा उत्तर-दक्षिण यातायात सञ्जाललाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विशेषगरी पूर्व-पश्चिम सम्पर्क विस्तार, वैकल्पिक मार्ग निर्माण तथा प्रमुख चोकको पुनःसंरचनाले दीर्घकालीन रूपमा ट्राफिक व्यवस्थापन सहज हुने बताउनुभयो ।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार गुरुयोजनामा २२ वटा पूर्वाधार विकास तथा १३ वटा सार्वजनिक यातायात सुधार कार्यक्रम समावेश छन् । योजनामा चक्रपथमा मास ट्रान्जिट प्रणाली, रत्नपार्क-भक्तपुर उच्च क्षमतायुक्त सार्वजनिक यातायात सेवा, पूर्व-पश्चिम जोडमार्ग विस्तार तथा नयाँ मास ट्रान्जिट विकल्प प्रस्ताव गरिएको छ ।
गुरुयोजनाले यातायात सञ्चालनलाई कम्पनी मोडलमा रूपान्तरण, रुट व्यवस्थापन तथा संस्थागत सुधारलाई पनि प्राथमिकता दिएको छ । विष्णुमती, धोबीखोला र ग्वार्कोमा नयाँ पुल, ठमेल, केएमसी दरबार र एलएमसी दरबार क्षेत्रमा पार्किङ, साइक्लिङ पथ, ट्राफिक सुरक्षा, सडक चोक स्तरोन्नति, आपत्कालीन सडक सञ्जाल तथा चक्रपथ बाहिर पार्किङ सुविधाजस्ता योजना पनि समेटिएका छन् ।
योजनामा महाराजगञ्ज र चाबहिल-गौशाला भूमिगत मार्ग, चाबहिल-बागमती तथा त्रिपुरेश्वर-माइतीघर आकासे पुल, विष्णुमती नदी तटीय मार्ग, सातदोबाटो-गोदावरी जोड्ने कर्मनाशा पुल, चौडा चक्रपथ, बागमती करिडोर स्तरोन्नति तथा बौद्धमार्ग सडक चोक सुधारसमेत प्रस्ताव गरिएको छ ।
गुरुयोजनाले उपत्यकाका मुख्य जाम हुने क्षेत्रमा अन्डरपास, भूमिगत सुरुङ, आकासे सडक तथा ठूला बसको एकीकृत सञ्चालनमार्फत ट्राफिक समस्याको दीर्घकालीन समाधान गर्ने लक्ष्य लिएको छ ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक सहयोगमा तयार गरिएको उक्त गुरुयोजना पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको हो । यसले एकीकृत, सुरक्षित, वातावरणमैत्री र सबैको पहुँचमा पुग्ने सार्वजनिक यातायात प्रणाली विकासका लागि दीर्घकालीन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । रासस
