- चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको स्वीकृति ।
- यसै वर्षदेखि विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन ।
- कानुनी प्रक्रिया पूरा गरी अस्पतालसँग सम्झौता गरिने ।
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ । यसै शैक्षिक वर्षदेखि विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनका लागि उक्त निर्णय गरिएको हो ।
प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले कैलालीका सेती, लम्किचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव प्रयागराज खनालका अनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थाअनुसार सम्बन्धित निकायसँग आवश्यक सम्झौता गरी कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाइनेछ ।
सहिद दशरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको ऐन, २०८२ को दफा २० मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको समन्वयमा अस्पतालसँग सम्झौता गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा शिक्षण अस्पतालका रूपमा उपयोग गर्न सकिने व्यवस्था छ । रासस
