RayNewsDaily
बाढी पहिरोले तीन वटा सडक पूर्ण रूपमा र छ वटा आंशिक अवरुद्ध

• विभिन्न राजमार्गमा बाढी, पहिरो र हिलोले यातायात प्रभावित ।

• बिपी राजमार्ग र कान्ति लोकपथमा राति यात्रा रोक ।

• यात्राअघि सडकको अवस्था बुझ्न प्रहरीको आग्रह ।

रे समाचार/काठमाडौँ । अविरल वर्षापछिको बाढी र पहिरोका कारण देशभरीका तीन सडकखण्ड पूर्ण रूपमा र छ वटा आंशिक रूपमा अवरुद्ध भएका छन् । बाढी-पहिरोले प्रभावित बनाएका अन्य २४ सडकखण्ड भने सामान्य मर्मतपछि सञ्चालनमा आइसकेका छन् ।

जोखिम बढेपछि बिपी राजमार्गको धुलिखेल-सिन्धुली खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ । इलामको राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण ठप्प भएपछि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङमा पहिरो तथा लेदो खसेर सडक पूर्ण रूपमा बन्द छ । यस्तै, दोलखाको किर्नेटारमा तामाकोशीले कटान गरेपछि लामोसाँघु-रामेछाप सडक अवरुद्ध बनेकाले खिम्ती ग्रामीण विद्युत् सहकारीको परिसरबाट वैकल्पिक बाटो चलाइएको छ ।

प्रहरीले वर्षा जारी रहेकाले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझेर मात्र सतर्कतापूर्वक अघि बढ्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update