RayNewsDaily
मनसुनी विपद्ले देशभरका नौ वटा प्रमुख सडक अवरुद्ध
  • पहिरो, सडक कटान र हिलोका कारण नौ प्रमुख सडकखण्ड अवरुद्ध ।
  • बिपी राजमार्ग र कान्तिलोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक ।
  • यात्रा अघि सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह ।

रे समाचार/काठमाडौँ । अविरल वर्षापछि आएको मनसुनी विपद्का कारण देशका विभिन्न जिल्लाका नौ प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले यात्रुहरूलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार आज साँझ ५ बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, ललितपुर, ताप्लेजुङ र लमजुङका विभिन्न सडकखण्ड प्रभावित भएका छन् ।

काभ्रेपलाञ्चोक-सिन्धुली खण्डको बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ ।

मकवानपुरको कान्तिलोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीका अनुसार इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामाबगर-रामेछाप सडकखण्ड, रसुवाको पासाङ ल्हामु राजमार्ग, ललितपुरको कान्तिलोकपथ, ताप्लेजुङको मेची राजमार्ग तथा लमजुङको बेँसीसहर-मनाङ सडकखण्ड पहिरो, सडक कटान र हिलोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।

दोलखाको लामासाँघु-रामेछाप सडकखण्डमा भने खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले वर्षायाममा सडकको अवस्था छिनछिनमै परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update