RayNewsDaily
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
  • बैसेरीमा ठूलो पहिरो खस्दा यातायात ठप्प ।
  • पहिरो पन्छाउने क्रममा एक्साभेटरसमेत पुरियो ।
  • सडक खुलाउन समय लाग्ने अनुमान ।

रे समाचार/गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको बेनी-जोमसोम सडक पहिरोका कारण अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका-२ बैसेरीमा आइतबार दिउँसो सडकमाथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटरसमेत पुरिएको बताउनुभयो । उहाँका अनुसार ठूलो पहिरो गएकाले सडक खुलाउन केही समय लाग्ने देखिएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त सडकखण्डमा आइतबार र सोमबार साँझ ७:०० बजेदेखि भोलिपल्ट बिहान ५:०० बजेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ ।

बेनी-जोमसोम सडक हुँदै सयौँ यात्रु तथा पर्यटक मुक्तिनाथ र कोरला नाकासम्म यात्रा गर्ने गर्दछन् ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update