- नेपाली पर्वतारोहणलाई विश्वस्तरमा चिनाउन पुर्जाको योगदान अतुलनीय ।
- साहस, नेतृत्व र समर्पणका पर्याय बनेका पुर्जाको योगदान स्मरणीय ।
- हिमालका साहसी आरोही पुर्जाको निधनमा जन्मथलो अन्नपूर्ण शोकमा ।
रे समाचार/गण्डकी । विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ ।
‘निम्स दाइ’का नामले चिनिने पुर्जाको पाकिस्तानस्थित ‘ब्रड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो । उहाँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा जन्मनुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले जारी गर्नुभएको सूचनामा पुर्जाको निधनले गाउँपालिका परिवारसहित सम्पूर्ण म्याग्दीवासीलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख छ ।
उहाँको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार अत्यावश्यक सेवाबाहेक सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा शोक बिदा दिने निर्णय गरेको जनाएको छ ।
नेपाली पर्वतारोहण क्षेत्रलाई विश्वमाझ नयाँ उचाइमा पुर्याउन, नेपाली पर्वतारोहीको पहिचान र गौरवलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको उदाहरण प्रस्तुत गर्न पुर्जाले पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहने गाउँपालिकाले जनाएको छ ।
पुर्जाको निधनले विश्व पर्वतारोहण समुदायमा अपूरणीय क्षति पुगेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । रासस
