- ब्रोड पीक हिम पहिरोमा निधन भएका आरोहीप्रति सरकारले दुःख व्यक्त गर्यो ।
- बेपत्ता भएको खबरलगत्तै खोज तथा उद्धार कार्य तीव्र बनाइएको जनायो ।
- नेपाली आरोहीको शव स्वदेश ल्याउन आवश्यक सहजीकरण भइरहेको जानकारी ।
रे समाचार/काठमाडौं । नेपाल सरकारले पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा साउन १४ गते हिम पहिरोमा परी आरोहीहरूको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै प्रख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाली आरोहीहरू संलग्न टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय र नेपाली टोलीले खोज तथा उद्धार कार्य तीव्र बनाएका थिए । उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धारमा खटिएका पाकिस्तानी र नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको मन्त्रालयले सराहना गरेको छ ।
दुर्घटनामा निधन भएका नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव फेला परिसकेको तथा बाँकी शवको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासमार्फत आवश्यक सहजीकरण भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिवङ्गत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
