RayNewsDaily
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
  • दुवै नगरपालिकामा कर्फ्यु हटाएर निषेधाज्ञा लागू ।
  • पाँच जनाभन्दा बढी भेला र प्रदर्शनमा रोक ।
  • अर्को आदेश नभएसम्म निषेधाज्ञा कायम रहने ।

रे समाचार/सप्तरी । सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले दुवै क्षेत्रमा अर्को आदेश नभएसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकले कर्फ्यु हटाएर निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाअनुसार दुवै नगरपालिकामा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न पाइने छैन । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको निषेधाज्ञा उल्लङ्घन नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

राजविराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी-थलही, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रलाई निषेधाज्ञा क्षेत्र तोकिएको छ ।

यस्तै, बोदेबरसाइन नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न संयमित रहन तथा प्रशासनका निर्णय कार्यान्वयनमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म कायम रहने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update