रे समाचार/काठमाण्डू । विश्व पर्वतारोहण जगतका एक उज्ज्वल नक्षत्र, नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक (Broad Peak) हिमालमा गएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ। यस दुर्घटनामा उहाँसँगै रहेका अन्य पर्वतारोही तथा नेपाली आरोहीहरू समेतले ज्यान गुमाएका छन्।
गत बिहीबार ब्रड पिकको क्याम्प-२ र क्याम्प-३ बीचको क्षेत्रमा ठूलो हिमपहिरो जाँदा अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको थियो। प्रतिकूल मौसम, निरन्तर हिमपात र उच्च हिमाली जोखिमका कारण उद्धार कार्य निकै कठिन बनेको थियो। त्यसपछि गरिएको खोज तथा उद्धार अभियानपछि निर्मल पुर्जासहित टोलीका सदस्यहरूको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको हो।
निर्मल पुर्जा नेपालका मात्र होइन, विश्व पर्वतारोहण इतिहासका असाधारण व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले सन् २०१९ मा संसारका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटै हिमाल केवल ६ महिना ६ दिन (१८९ दिन) मा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो । साथै सन् २०२१ मा के-टु हिमालको पहिलो सफल शीतकालीन आरोहणमा पनि उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको जीवनयात्रामा आधारित "14 Peaks: Nothing Is Impossible" नामक वृत्तचित्रले पनि विश्वभरका दर्शकमाझ ठूलो लोकप्रियता हासिल गरेको थियो।
साहस, नेतृत्व, अनुशासन र असम्भवलाई सम्भव बनाउने आत्मविश्वासका कारण निर्मल पुर्जा विश्वभरका पर्वतारोहीका लागि प्रेरणाका स्रोत बन्नु भएको थियो । उहाँले कठिन परिस्थितिमा धेरै आरोहीहरूको उद्धारसमेत गरेर मानवता र साहसको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको थियो ।
यस हृदयविदारक घटनाप्रति रे मिडिया ग्रुप सम्पूर्ण दिवंगत पर्वतारोहीहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछ।
रे मिडिया ग्रुपलाई सन् २०१९ मा पत्रकार रोशन केसी मार्फत निर्मल पुर्जासँग विशेष अन्तर्वार्ता गर्ने अवसर प्राप्त भएको थियो। त्यो अन्तर्वार्ता आज उहाँको अदम्य साहस, विनम्रता, राष्ट्रप्रेम र अटल आत्मविश्वासको अविस्मरणीय सम्झनाका रूपमा सुरक्षित रहेको छ।
निर्मल पुर्जाको योगदान नेपाली पर्वतारोहण इतिहासमा सधैं स्वर्ण अक्षरमा अंकित रहनेछ। उहाँले स्थापित गर्नुभएको साहस, समर्पण र विश्व कीर्तिमानले आगामी पुस्ताका पर्वतारोहीहरूलाई निरन्तर प्रेरणा दिईरहने रे टेलिभिजन परिवारको विश्वास छ ।
