RayNewsDaily
दीपमालाको शिरमा मिस नेपाल वर्ल्डको ताज
  • एनआरएनए दोस्रो पुस्ताकी संयोजकले जितिन् उपाधि ।
  • हङकङबाट नेपालसम्मको सफल यात्रा ।
  • आर्या निशान्त र कशिश सुब्बाले पनि उपाधि जिते ।

रे समाचार/काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की दोस्रो पुस्ताकी संयोजक दीपमाला ढकाल मिस नेपाल वर्ल्ड-२०२६ घोषित भएकी छन् । हङकङमा जन्मिएर हुर्किएकी ढकाल गत चैतमा सम्पन्न एनआरएनएको एकता महाधिवेशनबाट दोस्रो पुस्ताको संयोजकमा निर्वाचित भएकी थिइन् ।

मिस नेपालको फाइनलमा अन्तिम ६ प्रतिस्पर्धीमध्ये उत्कृष्ट बन्दै उनले उपाधि जितेकी हुन् । यसअघि उनी मिस नेपाल हङकङसमेत बनेकी थिइन् ।

एनआरएनएले विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका युवालाई नेपालसँग जोड्ने उद्देश्यले पहिलोपटक विधानमै दोस्रो पुस्ताको संयोजकको व्यवस्था गरेको थियो । सोही जिम्मेवारी सम्हालिरहेकी ढकालको सफलताले विश्वभर रहेका गैरआवासीय नेपाली युवालाई मातृभूमिसँग जोड्ने अभियानलाई थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ ।

एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईले ढकालको सफलता व्यक्तिगत उपलब्धि मात्र नभई दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवाका लागि प्रेरणादायी उदाहरण भएको बताइन् । उनका अनुसार ढकालले आफ्नै क्षमता र आत्मविश्वासका आधारमा उपाधि जितेकी हुन् ।

२३ वर्षीया ढकाल अर्थशास्त्रमा स्नातक हुन् । उनी अमेरिकी लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा इन्भेस्टमेन्ट एनालिस्टका रूपमा कार्यरत थिइन् । तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडी तथा म्याराथन धावकसमेत रहेकी उनले अन्तर्राष्ट्रिय करिअर छाडेर मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।

यस वर्षको मिस नेपाल प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेसनल तथा कशिश सुब्बा मिस नेपाल कस्मो घोषित भएका छन् ।

 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update