- धनुषामा कर्फ्यु हटाएर निषेधाज्ञा लागू ।
- निषेधाज्ञा क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक ।
- सिरहाको लहानमा पनि कर्फ्यु हटाइयो, जनजीवन सामान्य बन्दै ।
रे समाचार/जनकपुरधाम । धनुषामा जारी कर्फ्यु आदेश हटाएर निषेधाज्ञा लागू गरिएको छ । त्यस्तै, सिरहाको लहान नगरपालिकामा पनि कर्फ्यु आदेश हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको निर्णयपछि साउन १४ गतेदेखि लागू कर्फ्यु हटाइएको हो ।
कर्फ्यु हटाइए पनि शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ । निषेधाज्ञा लक्ष्मीनिया, नगराइन, बेलौनी रोड, सिउरजोडालगायत प्रशासनले तोकेका चारकिल्लाभित्र लागू हुनेछ ।
प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिकामा साउन १४ गतेदेखि लागू गरिएको कर्फ्यु शुक्रबार बिहान १० बजेदेखि हटाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा सुरक्षा निकायसँगको समन्वयपछि कर्फ्यु हटाउने निर्णय गरिएको जानकारी दिनुभएको छ ।
प्रशासनले कर्फ्यु हटाइएपछि जनजीवन क्रमशः सामान्य बन्दै जाने अपेक्षा गर्दै नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।
