RayNewsDaily
धर्मका नाममा हिंसा अस्वीकार गर्न धार्मिक अगुवाको संयुक्त आह्वान
  • हिंसा र विभाजनकारी गतिविधि अस्वीकार गर्न सबैसँग आग्रह ।
  • देवानगञ्जलगायत घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग ।
  • संवाद, सहकार्य र संयममार्फत सामाजिक सद्भाव कायम गर्न अपिल ।

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा शुक्रबार सिंहदरबारमा भएको छलफलपछि मुस्लिम र हिन्दू समुदायका अगुवाले संयुक्त अपिल जारी गर्दै हिंसा, घृणा र विभाजनकारी गतिविधि अस्वीकार गर्न आग्रह गरेका हुन् ।

उनीहरूले नेपालमा सदीयौँदेखि कायम रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापनामा सक्रिय हुन पनि अपिल गरिएको छ ।

संयुक्त अपिलमा विश्व हिन्दू महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासङ्घका सचिवालय सदस्य राजुराज फुयाँल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन् ।

अपिलमा भनिएको छ, “सबै धर्मको मूल भावना मानव कल्याण, सहिष्णुता र सामाजिक एकता सुदृढ गर्नु हो । कुनै पनि धर्मले अर्को धर्म मान्नेलाई विभेद गर्न नहुने तथ्य स्वीकार्दै सामाजिक एकतालाई बलियो बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।”

धार्मिक अगुवाहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी कानुनविपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । साथै, पीडित परिवारलाई राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि अनुरोध गरेका छन् ।

उनीहरूले धर्मका नाममा हिंसा फैलाउने प्रयासप्रति सचेत रहन र उत्तेजनात्मक, घृणात्मक तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन सबै नागरिकलाई आग्रह गरेका छन् ।

नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै अपिलमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकतालाई नेपालको पहिचानको आधारका रूपमा व्याख्या गरिएको छ । “कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्न हुँदैन भन्नेमा हामी स्पष्ट छौँ,” अपिलमा उल्लेख छ ।

देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक अगुवाहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update