- सार्वजनिक पुस्तकालयका स्टल पनि सिल ।
- करिब २ करोड ९० लाख रुपैयाँ बक्यौता ।
- सेवा सुधारपछि पुस्तकालय पुनः सञ्चालन गर्ने सरकारको तयारी ।
काठमाडौँ । नेपाल सरकारले भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित लामो समयदेखि भाडा नतिरेका स्टल बन्द गरेको छ । सार्वजनिक सम्पत्तिको संरक्षण र समाज कल्याण परिषद्को सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि यो निर्णय कार्यान्वयन गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार समाज कल्याण परिषद्ले सम्बन्धित संस्थालाई पटक–पटक पत्राचार, सार्वजनिक सूचना र अन्तिम ताकेतासमेत जारी गर्दै बक्यौता रकम तिर्न आग्रह गरेको थियो । तर, आग्रह र चेतावनीको बेवास्ता गरेपछि नेपाल सरकारको निर्णयअनुसार कानुनी प्रक्रिया पूरा गरी ती स्टल बन्द गरिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजले प्रयोग गर्दै आएको स्टल नम्बर ३४ र ६८ को चैत मसान्त २०८२ सम्मको बहाल बक्यौता दुई करोड ९० लाख २३ हजार ३६७ रुपैयाँ पुगेको छ ।
महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनले पनि उक्त बक्यौता असुलउपर गर्नुपर्ने औँल्याएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक पुस्तकालय सेवा अन्त्य गर्ने उद्देश्य नरहेको स्पष्ट गर्दै समाज कल्याण परिषद्को पुनःसंरचना र व्यवस्थापन सुधारपछि पुस्तकालय सेवा अझ व्यवस्थित, प्रभावकारी र जनमैत्री ढङ्गले पुनः सञ्चालन गरिने जनाएको छ ।
सार्वजनिक सम्पत्ति उपयोग गर्ने सबै संस्था तथा निकायले सम्झौता र कानुनबमोजिम आफ्ना दायित्व अनिवार्य रूपमा पूरा गर्नुपर्नेमा पनि मन्त्रालयले जोड दिएको छ ।
