RayNewsDaily
ब्रोड पिक हिमपहिरो : चार वटा शव फेला, बेपत्ता आरोहीको खोजी तीव्र बनाउन नेपालको आग्रह
  • ब्रोड पिक हिमपहिरोस्थलबाट चार शव फेला, पहिचान खुल्न बाँकी ।
  • निर्मल पुर्जा (निम्स दाइ)सहित १० आरोही अझै बेपत्ता ।
  • नेपाल सरकारले पाकिस्तानसँग समन्वय गर्दै खोजी तीव्र बनाउन आग्रह गरेको छ ।

रे समाचार/काठमाडौं । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोपछि बेपत्ता भएका विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित १० सदस्यीय अन्तर्राष्ट्रिय टोलीको खोजी जारी रहँदा घटनास्थलबाट चार वटा शव फेला परेका छन् । शवहरूको पहिचान भने अझै खुल्न सकेको छैन ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानका अनुसार उद्धार हेलिकप्टर तथा स्थलगत टोली परिचालन गरिएको छ । आवश्यक उद्धार सामग्रीसहितको टोलीले घटनास्थलमा खोजीलाई निरन्तरता दिइरहेको छ ।

यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकारले बेपत्ता आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै पाकिस्तान सरकार र सम्बन्धित निकायसँग समन्वय गरी उद्धार प्रयास तीव्र पार्न आग्रह गरेको हो ।

broad-peak3-1785479168.jpg
विभागका अनुसार पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको छ । खोज तथा उद्धारसम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ ।

साउन १४ गते आएको हिमपहिरोमा विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित नेपाली र विदेशी गरी १० जना आरोही बेपत्ता भएका हुन् ।

board-peak2-1785479208.jpg
बेपत्ता हुनेमा नेपालका निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मेलोरी गिस रहेका छन् । पाकिस्तानका अधिकारीहरूले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update