RayNewsDaily
सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, ठूलो एक्साभेटर ल्याइँदै
  • सेराबाडामा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध ।
  • ढुङ्गा हटाउन ठूलो एक्साभेटर जुम्लाबाट ल्याइँदै ।
  • प्रशासनले सडक छिट्टै सञ्चालनमा ल्याउने तयारी तीव्र बनायो ।

रे समाचार/कर्णाली । कर्णाली राजमार्गअन्तर्गत कालीकोट-जुम्ला सडकखण्डको सेराबाडामा आज सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

खाँडाचक्र नगरपालिका-८ स्थित सेराबाडामा माथिबाट खसेको पहिरो र ठूला ढुङ्गाले सडक बन्द भएपछि सबै प्रकारका सवारीसाधनको आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोसँगै झरेका ठूला ढुङ्गा सानो मेसिनबाट हटाउन सम्भव नभएकाले सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरी ठूलो एक्साभेटर मगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले रासससँग भन्नुभयो, “सडक डिभिजन कार्यालय जुम्लाको टिमुरे भिरमा रहेको एक्साभेटर सेराबाडातर्फ ल्याइँदैछ । हामी सकेसम्म छिटो सडक सञ्चालनमा ल्याउने प्रयासमा छौँ ।”

प्रशासनले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै सडक खुलाउने कार्यलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update