- टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् पुर्याउन अन्तर-निकाय समन्वयको निर्देशन ।
- ३१६ टावर अझै राष्ट्रिय प्रसारण लाइनबाहिर, करिब दुई हजार नयाँ टावर निर्माणको योजना ।
- फोरजी सेवा सुधार र फाइभजी पूर्वाधार निर्माणमा तीव्रता दिन सरकारको जोड ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न तथा सम्भव भएसम्म सबै टेलिकम टावरमा भरपर्दो विद्युत् सेवा पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न निर्देशन दिनुभएको छ ।
सञ्चार मन्त्रालयमा आज आयोजित अन्तर-निकाय छलफलमा मन्त्री डा. तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएकाले समस्या पहिचानमै सीमित नभई नतिजामुखी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्न कार्यसमूह गठन गर्न निर्देशन दिनुभयो ।
मन्त्री तिमिल्सिनाले टेलिकमका टावरमा विद्युत् पहुँच नपुगेका स्थानको यथार्थ विवरण नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराई प्राथमिकताका आधारमा विद्युत् विस्तार गर्नुपर्ने बताउनुभयो । विद्युत् पुगेका क्षेत्रमा पनि कम भोल्टेजका कारण सेवा प्रभावित भएकाले वितरण प्रणालीको क्षमता विस्तार आवश्यक रहेको उहाँको भनाइ थियो ।
उहाँले फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा तीव्रता दिन र दुर्गम तथा ग्रामीण क्षेत्रमा उच्च गतिको इन्टरनेट विस्तारका लागि ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को प्रभावकारी परिचालन गर्न पनि निर्देशन दिनुभयो । साथै, प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तार व्यवस्थापनका लागि सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
छलफलमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले हाल टेलिकमका ३१६ वटा टावरमा राष्ट्रिय प्रसारण लाइनबाट भरपर्दो विद्युत् उपलब्ध नभएकाले ती सौर्य ऊर्जाको भरमा सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार टेलिकमले करिब दुई हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको छ, जसमध्ये करिब एक हजार ४०० टावरमा नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने अवस्था छ । कम भोल्टेजका कारण सञ्चालनमा रहेका केही टावरसमेत पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा नयाँ टावर र विद्युत् पूर्वाधार सँगसँगै विस्तार गर्ने गरी संयुक्त योजना बनाउनुपर्नेमा जोड दिनुभयो । कम भोल्टेजको समस्या समाधानका लागि प्रसारण तथा वितरण प्रणाली सुदृढ बनाइने र नियमित समन्वयका लागि संयुक्त समिति गठन गर्न सकिने धारणा पनि उहाँहरूले राख्नुभयो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दुर्गम तथा ग्रामीण क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुग्न कठिन हुने स्थानमा सौर्य ऊर्जा तथा लघुजलविद्युत्मार्फत टेलिकम टावरमा विद्युत् उपलब्ध गराउन केन्द्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
