RayNewsDaily
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
  • कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन ।
  • बुधबार सानेपामा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा अन्त्येष्टि ।
  • उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको नेतृत्व गर्नुभएका नेता श्रेष्ठ ।

रे समाचार/काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको छ । उहाँको आज ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको हो ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले श्रेष्ठको निधन भएको पुष्टि गर्दै विस्तृत जानकारीसहित पार्टीले केही समयमै औपचारिक विज्ञप्ति जारी गर्ने जानकारी दिनुभयो ।

श्रेष्ठको पार्थिव शरीर भोलि बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको छ ।

क्यान्सरबाट पीडित श्रेष्ठको विगत एक वर्षदेखि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो । पछिल्लो समय उहाँ हेलिअस अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

कांग्रेसले गत ७ साउनमा पार्टीमा उहाँले पुर्‍याउनुभएको योगदानको सम्मानस्वरूप वरिष्ठ नेतामा मनोनयन गरेको थियो ।

स्याङ्जाबाट पटक-पटक प्रतिनिधिसभा सदस्य निर्वाचित श्रेष्ठले उपप्रधानमन्त्रीसहित भौतिक योजना, वन, उद्योग र शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले नेपाली कांग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापतिको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।

प्रजातन्त्र स्थापनाका आन्दोलनमा सक्रिय भूमिका खेलेका श्रेष्ठ विभिन्न समयमा गरी करिब पाँच वर्ष जेल जीवनसमेत बिताउनुभएको थियो । उहाँ गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी हुनुभएको थियो ।

सभापति थापा र देउवाद्वारा श्रद्धाञ्जली

कांग्रेस सभापति गगनकुमार थापाले नेता श्रेष्ठको निधनले पार्टीले लोकतान्त्रिक आन्दोलनका एक निष्ठावान्, अनुभवी र प्रेरणादायी नेता गुमाएको बताउनुभएको छ । उहाँले लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षामा श्रेष्ठले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहने उल्लेख गर्नुभएको छ ।

यसैगरी, कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि शोक व्यक्त गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले निर्वाह गर्नुभएको अग्रणी भूमिका सधैँ अविस्मरणीय रहने उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update