RayNewsDaily
पहिरो हटेपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
  • सुक्खा पहिरो हटाएपछि सडक दिउँसो १ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा ।
  • एम्बुलेन्स र मोटरसाइकललाई पहिले एकतर्फी रूपमा आवागमन गराइएको थियो ।
  • रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाउन थालिएको प्रहरीले जनाएको छ ।

रे समाचार/चितवन । मुग्लिन नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पहिरो हटाइएपछि आज दिउँसो १ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका-५ स्थित खहरे खोला क्षेत्रमा आज बिहान ८ः३० बजे करिब ४० मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएपछि दुवैतर्फबाट सवारीसाधन सञ्चालन गरिएको हो । यसअघि बिहान ११ः१५ बजे सडक एकतर्फी खुलाएर एम्बुलेन्स र मोटरसाइकललाई प्राथमिकताका साथ आवागमन गराइएको थियो ।

पहिरो हटाउन नारायणगढ र मुग्लिनबाट लोडर, स्काभेटर तथा ब्याकहो परिचालन गरिएको थियो। सडक सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १४:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update