- झापामा ८८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न ।
- दमक र कमलमा ९५ प्रतिशत, गौरीगञ्जमा ७५ प्रतिशत रोपाइँ ।
- समयमै परेको वर्षाले किसानलाई रोपाइँ गर्न सहज ।
झापा । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि झापामा यस वर्ष धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । कृषि ज्ञान केन्द्रका अनुसार सोमबारसम्म जिल्लाको करिब ८८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार दमक नगरपालिका र कमल गाउँपालिकामा सबैभन्दा बढी ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिकामा भने सबैभन्दा कम ७५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको उहाँले जानकारी दिनुभयो ।
झापामा सामान्यतया असारको पहिलो सातादेखि धान रोपाइँ सुरु भई साउनको अन्तिमसम्म चल्ने गर्छ । असार १५ देखि साउन १५ गतेसम्मलाई मुख्य रोपाइँको समय मानिन्छ ।
यस वर्ष मनसुन समयमै सक्रिय भएकाले किसानलाई रोपाइँ गर्न सहज भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा करिब ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । रासस
