RayNewsDaily
नारायणगढ-मुग्लिन सडकमा पहिरो, पन्छाउन कठिनाइ
  • मुग्लिन नजिक सुक्खा पहिरो खस्दा सडक अवरुद्ध ।
  • पहिरो खसिरहेकाले दुईतर्फी यातायात सञ्चालनमा ढिलाइ ।
  • थप पहिरो नखसे दिउँसोसम्म सडक खुलाउने तयारी ।

रे समाचार/चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन नजिक खहरे खोलामा खसेको पहिरो पन्छाउन कठिनाइ भएको छ । इच्छाकामना गाउँपालिका-७ स्थित उक्त क्षेत्रमा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भई आवागमन प्रभावित भएको हो ।

डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अनुमान नगरिएको स्थानमा एकाएक पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो अझै खसिरहेकाले हटाउने कार्यमा समस्या भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार केही पहिरो पन्छाएर आकस्मिक सेवाका सवारीसाधनलाई आवतजावत गराइएको छ । दुईतर्फी यातायात सञ्चालनका लागि भने थप समय लाग्नेछ । थप पहिरो नखसेमा दिउँसोसम्म सडक सफा गरी रोकिएका सवारीसाधन सञ्चालन गराउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढतर्फ रहेको स्थानमा करिब ४० मिटर माथिबाट ढुङ्गासहितको पहिरो खसेर करिब २० मिटर सडक ढाकेको छ । नयाँ डाँडोबाट पहिरो खस्न सुरु भएकाले यस वर्षायाममा उक्त क्षेत्रमा थप जोखिम रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update