- पाँचौँ दिनमा डा. केसीको स्वास्थ्य अवस्था थप जटिल ।
- रक्तचिनी खतरनाक रूपमा घट्दा पनि औषधि र स्लाइन लिन अस्वीकार ।
- चिकित्सकको २४सै घण्टा निगरानीमा आईसीयूमा उपचार जारी ।
रे समाचार/सुदूरपश्चिम । धनगढीमा पाँच दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उहाँ धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत रहे पनि औषधि र स्लाइन लिन अस्वीकार गरेपछि उपचारमा थप चुनौती देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालले आइतबार साँझ जारी गरेको विज्ञप्तिअनुसार डा. केसीको रक्तचाप ९०/६० एमएमएचजी रहेको छ भने रगतमा चिनीको मात्रा घटेर ४२ मिलिग्राम प्रतिडेसिलिटरमा पुगेको छ, जसलाई चिकित्सकीय भाषामा ‘हाइपोग्लाइसेमिया’ भनिन्छ । यस्तै, पिसाबमा किटोन बडी देखिएको र रगतमा एसिडोसिससमेत देखापरेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार सुगरको मात्रा बढाउन आवश्यक औषधि र स्लाइन दिनुपर्ने अवस्था भए पनि डा. केसीले त्यसलाई अस्वीकार गरिरहनुभएको छ । उहाँलाई चक्कर लाग्ने, मांसपेशी बाउडिने तथा कमजोरीका कारण बोल्नसमेत कठिनाइ भइरहेको अस्पतालले जनाएको छ ।
चिकित्सकहरूको नेतृत्वमा गठित चार सदस्यीय उपचार टोलीले डा. केसीको स्वास्थ्य अवस्थाको २४सै घण्टा निगरानी गरिरहेको छ । लामो समयदेखि मधुमेहको समस्या र बढ्दो उमेरका कारण उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको अस्पतालले जनाएको छ ।
