RayNewsDaily
अव्यवस्थित तार हटाउने काम सुस्त, दुई मन्त्रीको असन्तुष्टि
  • अव्यवस्थित तार हटाउने अभियानको प्रगतिबारे संयुक्त अनुगमन ।
  • लक्ष्यअनुसार काम नभएको भन्दै सञ्चारमन्त्रीको असन्तुष्टि ।
  • ढिलाइ गर्ने निकायलाई कारबाहीको चेतावनी ।

रे समाचार/काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं उपत्यकामा सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार हटाउने अभियानको प्रगतिबारे आइतबार संयुक्त रूपमा स्थलगत अनुगमन गर्नुभएको छ ।

मन्त्रीद्वयले गौशाला, पुरानो बानेश्वर, जडीबुटीलगायत क्षेत्रमा पुगेर तार व्यवस्थापनको अवस्था निरीक्षण गर्नुका साथै सम्बन्धित निकायसँग कामको प्रगति र देखिएका समस्याबारे जानकारी लिनुभएको हो ।

अनुगमनका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले नेपाल दूरसञ्चार प्राधिकरणले साउन १५ गतेभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भए पनि अपेक्षाअनुसार प्रगति नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नागरिकले प्रत्यक्ष परिणाम देख्ने गरी तोकिएकै समयभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै ढिलाइ गर्ने निकाय वा व्यक्तिलाई कारबाही गरिने चेतावनी दिनुभयो ।

उहाँले प्रयोगमा नरहेका केबल तत्काल हटाउन, सेवा प्रदायकलाई आफ्ना तारको जिम्मेवारी लिन तथा नेपाल दूरसञ्चार प्राधिकरणलाई सबै सेवा प्रदायकबीच प्रभावकारी समन्वय गर्दै स्पष्ट समयसीमासहित कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

abebasthik-wire-1785166553.jpeg
ऊर्जामन्त्री श्रेष्ठले अव्यवस्थित तार हटाउने अभियान र भूमिगत केबलिङ दुवै कार्यलाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकाय जवाफदेही हुनुपर्ने बताउनुभयो । न्युरोड र विशालबजार क्षेत्रमा तार व्यवस्थापनपछि सहरी सौन्दर्यमा सुधार आएको उल्लेख गर्दै उहाँले अन्य क्षेत्रमा पनि अभियान विस्तार गरिने जानकारी दिनुभयो ।

सरकारले पहिलो चरणमा त्रिपुरेश्वर-कालिमाटी-कलङ्की, जडीबुटी-पेप्सीकोला, त्रिपुरेश्वर-लाजिम्पाट, सामाखुसी-टाउन प्लानिङ-गोँगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर-गौशाला-चाबहिल गरी छ वटा रुटमा अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउने अभियान सञ्चालन गरिरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वर्षात्, तारको स्वामित्व पहिचान गर्न कठिनाइ तथा सडक क्षेत्रमा दिउँसो काम गर्न नपाउने व्यवस्थालगायत कारण केही ढिलाइ भएको बताउँदै पहिलो चरणको काम सम्पन्न गर्न थप १५ दिन आवश्यक पर्ने जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  २१:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update