- आँपको उत्पादन र उत्पादकत्व बढ्दै गए पनि उपभोक्ता मूल्य घट्न सकेन ।
- उत्पादकदेखि उपभोक्तासम्म तीन तहका व्यावसायी हुँदा मूल्यमा ठूलो अन्तर ।
- कोल्ड स्टोर, सङ्कलन केन्द्र र प्रशोधन उद्योग विस्तार गर्न विज्ञको सुझाव ।
भीष्मराज ओझा/काठमाडौँ । आँपको उत्पादन, क्षेत्रफल र उत्पादकत्व पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको भए पनि बजारमा यसको मूल्य भने घट्न सकेको छैन । उत्पादन बढे पनि किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यबीच अझै ठूलो अन्तर रहेको देखिन्छ ।
आँप उत्पादन गर्ने किसानदेखि उपभोक्तासम्म पुग्न कम्तीमा तीन तहका व्यावसायी संलग्न हुने भएकाले मूल्यमा ठूलो अन्तर पर्ने गरेको गुनासो छ । नेपालमा स्वदेशी उत्पादनसँगै भारत र चीनबाट आयात हुने विभिन्न प्रजातिका आँप वैशाखदेखि असोजसम्म बजारमा उपलब्ध हुने गर्छन् ।
नेपाल फलफूल थोक व्यावसायी सङ्घ, कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार नेपालमा वार्षिक रूपमा स्वदेशी उत्पादन र भारतबाट आयात हुने करिब रु दुई-दुई अर्ब तथा चीनबाट आयात हुने करिब रु एक अर्ब बराबरको आँप खपत हुन्छ । चीनबाट पछिल्ला दुई वर्षयता मात्र ठूलो परिमाणमा आँप आयात हुन थालेको उहाँले बताउनुभयो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार मालदह र दशहरी आँपको थोक मूल्य प्रतिकेजी न्यूनतम रु १८० र अधिकतम रु २०० रहेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार वैशाखदेखि आजसम्म कालिमाटी बजारमा एक हजार २३० टन आँप भित्रिएको छ । त्यसमध्ये २८० टन भारतबाट आयात गरिएको हो ।
यसपालि आँपको मूल्य तुलनात्मक रूपमा उच्च
यस वर्ष आँपको मूल्य अघिल्ला वर्षको तुलनामा धेरै तल नझरेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । नेपालमा सबैभन्दा बढी मालदह प्रजातिको आँप बिक्री हुने गरेको छ भने त्यसपछि दशहरी, कलकत्ते, चोसा र अम्रपालीलगायत प्रजातिको माग रहने गरेको उहाँले जानकारी दिनुभयो ।
कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५२ हजार ९७५ हेक्टर क्षेत्रफलमा पाँच लाख १७ हजार ५५२ टन आँप उत्पादन भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा ५२ हजार ४३३ हेक्टर क्षेत्रफलमा पाँच लाख पाँच हजार १३७ टन आँप उत्पादन भएको केन्द्रका प्रमुख महेशचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको कुल आँप उत्पादनको करिब ७७ प्रतिशत मधेश प्रदेशमा हुने गरेको छ ।
उत्पादन बढे पनि भारतबाट ठूलो परिमाणमा आँप आयात हुने क्रम जारी छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा भारतबाट ९६ लाख ५४ हजार २९२ केजी आँप आयात भएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा ८८ लाख १२ हजार ९६६ केजी आँप आयात भएको छ ।
फलफूलको राजा आँप
तराईदेखि मध्यपहाडका बेँसीसम्म खेती गर्न सकिने आँपलाई फलफूलको राजा मानिन्छ । आँपमा वर्ष बिराएर फल्ने प्रवृत्ति हुने भएकाले कहिलेकाहीँ तीन-चार वर्षमा एक वर्ष मात्रै राम्रो उत्पादन हुने गर्छ ।
विज्ञहरूका अनुसार प्रतिकूल मौसम, भारतीय आयातको अवस्था, ढुवानी, मजदुरी र प्याकेजिङ खर्च वृद्धि तथा सिजनको सुरुमै माग बढी र आपूर्ति कम हुने कारणले आँपको मूल्य घट्न सकेको छैन । दीर्घकालीन समाधानका लागि कोल्ड स्टोर, सङ्कलन केन्द्र, प्रशोधन उद्योग, गुणस्तरीय प्याकेजिङ, ब्रान्डिङ, बजार सूचना प्रणाली र न्यूनतम समर्थन मूल्यको व्यवस्था गर्नुपर्ने सुझाव उनीहरूको छ ।
‘बिचौलियाले बढी नाफा लिए भन्ने हल्ला मात्र’
नेपाल फलफूल थोक व्यावसायी सङ्घ, कुलेश्वरका अध्यक्ष बाँनियाले बिचौलियाले अत्यधिक नाफा लिएको भन्ने आरोप सही नभएको बताउनुभयो । उहाँका अनुसार किसानको बगानदेखि थोक बजारसम्म आइपुग्दा ठेक्का, गोडमेल, मलजल, श्रम, ढुवानी र जोखिमको लागत जोडिने भएकाले मूल्य बढ्ने गरेको हो ।
उहाँका अनुसार यस सिजनमा नेपाली आँप प्रतिकेजी रु १०० देखि १५० र भारतीय आँप प्रतिकेजी रु १२० देखि २०० सम्म थोक बजारमा बिक्री भएको छ । त्यसपछि खुद्रा व्यवसायीले आफ्नो नाफा थपेर उपभोक्तासम्म पुर्याउने गरेका छन् ।
नेपालमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धादिङ, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर आँप उत्पादनका प्रमुख जिल्ला हुन् ।
आँप खेतीको सम्भावना
तराई-मधेशका अधिकांश क्षेत्रमा आँप खेती व्यावसायिक रूपमा विस्तार गर्न सकिने सम्भावना रहेको छ । मन्त्रालयका अनुसार आँप खेतीले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, चुरे संरक्षण, कार्बन सञ्चिति र वैकल्पिक काष्ठ उत्पादनमा समेत योगदान पुर्याउन सक्छ ।
पानीको उपलब्धता कम भएको अवस्थामा पनि खेती गर्न सकिने, उत्पादन लागत तुलनात्मक रूपमा कम हुने र लामो समयसम्म उत्पादन लिन सकिने भएकाले बाँझो जमिनको सदुपयोगका लागि पनि आँप खेती उपयुक्त कृषि व्यवसाय मानिएको छ । रासस
