RayNewsDaily
तादी गाउँपालिकाका समस्या र विकास योजनाबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल
  • तादी गाउँपालिकाका समस्या, विकास योजना र सेवा प्रवाहबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल ।
  • नेपाल टेलिकमको टावर विस्तारसहित पूर्वाधार विकासका योजनामा सहजीकरण गर्ने प्रतिबद्धता ।
  • विपद् व्यवस्थापन, राहत वितरण र जोखिमयुक्त बस्ती व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको जोड ।

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शिक्षा, स्वास्थ्य, सञ्चार तथा विपद् व्यवस्थापनलगायत विषयमा आज नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा छलफल गर्नुभएको छ ।

छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले गाउँपालिकाको समग्र विकास निर्माण, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा र अपेक्षाबारे जानकारी लिनुभएको थियो ।

उहाँले स्थानीय तहबाट आएका समस्या र मागलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै सङ्घीय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजनालाई अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले तादी गाउँपालिका-२ मुडुलेडाँडामा नेपाल टेलिकमको टावर तथा नेटवर्क विस्तारको काम यथाशीघ्र अघि बढाउन निर्देशन दिइसकेको बताउँदै खानेपानी, सिँचाइ, सडक, स्वास्थ्य, सञ्चार तथा अन्य पूर्वाधार क्षेत्रमा आवश्यक सहजीकरण गरिने बताउनुभयो ।

उहाँले वर्षायाममा बाढी, पहिरो नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

तत्काल राहत वितरण, जोखिमयुक्त बस्तीको पहिचान तथा स्थानान्तरणका लागि स्थानीय तहले यथार्थ मूल्याङ्कन गरी आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले भन्नुभयो, “नागरिकले सुविधा पाउनुपर्छ । कुनै पनि नागरिकले असुविधा भोग्नु हुँदैन । त्यसमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण भएकाले सोहीअनुसार सहयोगको अपेक्षा गरेको छु ।”

उहाँले तादी गाउँपालिकामा आवश्यक पूर्वाधार योजनाको पहिचान गरी सङ्घीय सरकारको क्षेत्राधिकारभित्र पर्ने आयोजना कार्यान्वयनका लागि पहल गरिने पनि बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका डा. तिमिल्सिनाले यसअघि पनि नुवाकोटका विभिन्न स्थानीय तह र सेवा प्रदायक निकायसँग जिल्लाको विकास तथा सेवा प्रवाहका विषयमा नियमित छलफल गर्दै आउनुभएको छ । उहाँ नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

गत हप्ता उहाँले ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग स्थानीय आवश्यकता र समस्याबारे छलफल गर्नुका साथै जिल्लाको विद्युत् आपूर्ति सुधारका विषयमा नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण सेवा केन्द्रका प्रमुखसँग पनि छलफल गर्नुभएको थियो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष तामाङले तादी गाउँपालिका-५ स्थित दोर्खुखोला मुहानबाट सठिया, बोरे र बञ्चरे क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  १६:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update