- झापाका १५ वटै पालिकामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मको काम तीव्र ।
- बिहान ७ बजेदेखि रातिसम्म र बिदाको दिनमा पनि कर्मचारी सेवामा ।
- सरकारले तोकेको समयभित्र सबै योग्य भूमिहीनलाई धनीपुर्जा वितरण गर्ने लक्ष्य ।
रे समाचार/भद्रपुर (झापा) । झापामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (धनीपुर्जा) वितरण अभियान तीव्र पारिएको छ । जिल्ला भूमि समस्या समाधान समिति र १५ वटै स्थानीय तहले लगत सङ्कलन, छानबिन, प्रमाणीकरणदेखि धनीपुर्जा वितरणसम्मका काम सार्वजनिक तथा साप्ताहिक बिदाका दिनमा समेत निरन्तर सञ्चालन गरिरहेका छन् ।
जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव तथा नापी कार्यालय भद्रपुरका प्रमुख शिवप्रसाद लम्सालका अनुसार सरकारले तोकेको समयभित्र सबै योग्य भूमिहीन परिवारलाई जग्गाको स्वामित्व दिलाउने लक्ष्यका साथ नियमित कार्यालय समयभन्दा बाहिर पनि कर्मचारी खटिएका छन् । उहाँले जिल्लाका सबै पालिकामा एकैसाथ लगत सङ्कलन भइरहेको र त्यसका कारण बिहान ७ बजेदेखि बेलुकासम्म, आवश्यक परे राति ९ बजेसम्म पनि काम गर्नुपरेको बताउनुभयो ।
उहाँका अनुसार लामो समयदेखि समाधान हुन नसकेको भूमि समस्यालाई अहिले उच्च प्राथमिकतामा राखिएको छ । समयसीमाभित्र बढीभन्दा बढी नागरिकलाई धनीपुर्जा उपलब्ध गराउने उद्देश्यले सबै पालिकामा प्रक्रिया तीव्र बनाइएको उहाँले बताउनुभयो ।
स्थानीय तहका भूमि व्यवस्थापन शाखामा पनि कामको चाप बढेको छ । अर्जुनधारा नगरपालिकाले कार्यालय समयअघि नै बिहान ७ बजेदेखि सेवा सुरु गर्दै साप्ताहिक बिदाको दिनमा पनि सेवाग्राहीलाई सेवा दिइरहेको छ ।
नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले भूमि समस्या समाधान नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । अतिरिक्त सेवासुविधाबिनै कर्मचारी बिहानदेखि बेलुकासम्म निरन्तर खटिएको उल्लेख गर्दै उहाँले भूमि समस्या समाधान राजनीतिक लाभको विषय नभई नागरिकलाई राज्यसँग जोड्ने महत्वपूर्ण अभियान भएको बताउनुभयो ।
अर्जुनधारा नगरपालिकामा धनीपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भूमि शाखा प्रमुख चुडामणि निरौलाका अनुसार वडा नम्बर १ का करिब १२५ र वडा नम्बर २ का करिब ४२ परिवार धनीपुर्जा प्राप्त गर्ने अन्तिम प्रक्रियामा छन् ।
नगरपालिकाले गत असारमा १४४ र यही साउन ७ गते थप १७ जना अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गरिसकेको छ । नयाँ सूचीकरणअनुसार अर्जुनधाराका ११ वटै वडामा ७२९ भूमिहीन सुकुम्वासी, २१२ भूमिहीन दलित र ६ हजार ३५९ अव्यवस्थित बसोबासी रहेका छन् । आवश्यक प्रक्रिया पूरा गर्दै उनीहरूलाई चरणबद्ध रूपमा धनीपुर्जा वितरण गरिने जनाइएको छ ।
झापाका अन्य स्थानीय तहमा पनि धनीपुर्जा वितरण अभियान अघि बढिरहेको छ । गत साता कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाले पाँच-पाँच जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गरेका छन् ।
कनकाई नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका गरी ७ हजार २०७ आवेदन परेका छन् । तीमध्ये हालसम्म २४५ परिवारले धनीपुर्जा प्राप्त गरिसकेको भूमि शाखाप्रमुख रमिता कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन धेरै भएकाले आवश्यक मापदण्ड पूरा भएका परिवारलाई प्राथमिकताका आधारमा चरणबद्ध रूपमा धनीपुर्जा वितरण भइरहेको छ ।
जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरकारले तोकेको समयभित्र जिल्लाका सबै योग्य भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो । उहाँले वितरणका क्रममा देखिएका समस्या वडा तहदेखि जिल्ला हुँदै केन्द्रसम्म समन्वय गरेर समाधान गरिने जानकारी दिनुभयो ।
सरकारको भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व दिलाउने अभियानअन्तर्गत झापामा अहिले लगत सङ्कलनदेखि प्रमाणीकरण र धनीपुर्जा वितरणसम्मका सबै प्रक्रिया तीव्र गतिमा अघि बढिरहेका छन् ।
