RayNewsDaily
पहिरोले बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध, यात्रा नगर्न प्रशासनको आग्रह
  • लगातारको वर्षापछि दुई प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध ।
  • वर्षा नरोकिँदा पहिरो हटाउन कठिनाइ ।
  • अत्यावश्यकबाहेक यात्रा नगर्न प्रशासनको आग्रह ।

रे समाचार/म्याग्दी ।अविरल वर्षापछि खसेको पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक र म्याग्दीको बेनी-दरवाङ हुँदै रुकुम जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार रघुगंगा गाउँपालिका-२ बैसरीमा सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध भएको हो । प्रहरी र बेनी-जोमसोम सडक आयोजनाको टोली सडक खुलाउने प्रयासमा जुटे पनि निरन्तर वर्षाका कारण काम प्रभावित भएको छ ।

त्यसैगरी, बेनी-दरवाङ-जलजला-रुकुम सडकअन्तर्गत बेनी नगरपालिका-४ फापरखेतको घुमाउने भिर र वडा नं. ६ डम्बरामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक खुलाउने प्रयास जारी रहे पनि लगातारको वर्षाले काममा बाधा पुगेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले वर्षायाममा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  १२:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update