RayNewsDaily
फेरि अनसनमा डा. गोविन्द केसी, चिकित्सा शिक्षा सुधारदेखि सुशासनसम्मका माग
धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनसनरत डा. गोविन्द केसी ।
  • डा. केसी २४औँ आमरण अनसनमा ।
  • पाँच बुँदे मागसहित सत्याग्रह सुरु ।
  • सहमति कार्यान्वयन नभएको आरोप ।

रे समाचार/काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र आफ्ना पाँच बुँदे माग बेवास्ता गरिएको भन्दै धनगढीबाट फेरि आमरण अनसन सुरु गर्नुभएको छ ।

यसपटक उहाँले चिकित्सा शिक्षा आयोग र दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएका नियुक्ति खारेज, छात्रवृत्ति कटौती तथा मापदण्ड नपुगेका निजी मेडिकल कलेजमा सिट वृद्धि रोक्न, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउन तथा विगतका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ ।

डा. केसीले सुदूरपश्चिम र सीमावर्ती क्षेत्रका नागरिकले स्वास्थ्य, शिक्षा र रोजगारीका लागि छिमेकी मुलुकमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउँदै सुशासन, भ्रष्टाचार नियन्त्रण र विगतका गम्भीर घटनाको निष्पक्ष छानबिनको मागसमेत अघि सार्नुभएको छ । सरकारले तोकिएको समयसीमाभित्र माग सम्बोधन नगरेकाले पुनः सत्याग्रह सुरु गर्न बाध्य भएको उहाँको भनाइ छ ।

डा. केसी विगत एक दशकभन्दा बढी समयदेखि चिकित्सा शिक्षा सुधार, स्वास्थ्य सेवामा पहुँच र सुशासनका विषयमा पटक-पटक अनसन बस्दै आउनुभएको छ । उहाँका आन्दोलनपछि चिकित्सा शिक्षा ऐन निर्माण, नीति सुधार तथा सरकारसँग विभिन्न चरणमा लिखित सहमति भएका भए पनि ती पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै उहाँले यसअघि पनि पटक-पटक आन्दोलन गर्नुभएको थियो । यसपटकको अनसन उहाँको २४औँ सत्याग्रह हो ।

 

डा.  केसीलाई धर्मशाला छाड्न आग्रह

यसैबीच, धनगढीस्थित कृष्ण मन्दिर व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहनुभएका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला छाड्न आग्रह गर्दै आज पत्र थमाएको छ । समितिका अध्यक्ष मुक्तिनाथ पन्तका अनुसार डा. केसी बास बस्ने भन्दै धर्मशालामा आउनुभएको थियो । तर पूर्वजानकारीबिनै अनसन सुरु गर्नुभएपछि धार्मिक संस्थामा सत्याग्रह गर्न दिइएको भन्दै विभिन्न पक्षबाट दबाब आउन थालेकाले धर्मशाला खाली गर्न अनुरोध गरिएको हो । कसको दबाबमा यस्तो निर्णय गरिएको भन्ने विषय भने समितिले खुलाएको छैन ।

उता डा. केसीका सहयोगी डा. अमृत जैशीले पूर्वजानकारी दिएरै धर्मशालामा सत्याग्रह सुरु गर्नुभएको दाबी गर्दै व्यवस्थापन समितिले स्थान छाड्नुपर्ने कारण स्पष्ट नगरेको बताउनुभयो । धर्मशाला छाड्न पत्र प्राप्त भएपछि डा. केसी पक्षले अबको विकल्पबारे छलफल गरिरहेको जनाएको छ । डा. केसी चिकित्सा शिक्षा सुधार, सुशासनलगायत पाँच बुँदे माग राख्दै बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रहमा रहनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १४:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update