RayNewsDaily
नेपाली किसानको रिहाइको पहल गर्न कांग्रेसको आग्रह

काठमाण्डू । नेपाली कांग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

सो पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सर्लाहीको बलरा नगरपालिकाका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह सीमावर्ती भारतीय बजारमा रासायनिक मल खरिद गरी फर्किने क्रममा पक्राउ परेको उल्लेख छ । 

कांग्रेसले आफ्नो खेतीका लागि मल ल्याउने क्रममा पक्राउ परेका किसानको रिहाइका लागि सरकारले तत्काल पहल गर्न आग्रह गरेको छ । मानवीय आधारमा उनीहरूको अविलम्ब रिहाइ गरिदिन कांग्रेसले अनुरोध गरेको छ ।

विज्ञप्तिमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीयतालाई ध्यानमा राखी यस्ता संवेदनशील विषयमा तत्काल समाधान निकाल्न आग्रह गरिएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update