- पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढी ९७.२ मिमी वर्षा ।
- दोलखाको लामाबगरमा ८१.४ मिमी वर्षा, पहाडी क्षेत्रमा वर्षा उल्लेख्य ।
- जाजरकोटमा पछिल्लो ६ घण्टामा सबैभन्दा बढी वर्षा, केही स्थानमा अझै भारी वर्षाको सम्भावना ।
काठमाडौं । देशका पहाडी क्षेत्रमा पछिल्लो २४ घण्टामा उल्लेख्य वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७.२ मिलिमिटर मापन गरिएको छ ।
महाशाखाका अनुसार दोलखाको लामाबगरमा ८१.४ मिलिमिटर वर्षा भएको छ । मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा मुख्यतः पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको र मधेस, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो ६ घण्टामा जाजरकोटमा सबैभन्दा बढी ५.६ मिलिमिटर वर्षा मापन भएको छ । यस अवधिमा काठमाडौं, सुर्खेत र कैलाली आसपासका क्षेत्रमा पनि हल्का वर्षा भएको छ ।
महाशाखाले पहाडी क्षेत्रका केही स्थानमा अझै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । रासस
