- सात जिल्लाका प्रमुख सडक पहिरो र बाढीका कारण अवरुद्ध ।
- बिपी राजमार्ग र कान्तिलोकपथमा रातिको सवारी सञ्चालन रोक ।
- मेची, अरनिको, कालीगण्डकी करिडोरसहित विभिन्न सडक प्रभावित ।
रे समाचार/काठमाडौं । लगातारको वर्षापछि आएको पहिरो, बाढी र सडकमा जमेको हिलोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले बुधबार बिहान ९ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै सात जिल्लाका सडक पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ ।
प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा अर्को सूचना जारी नभएसम्म बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
त्यसैगरी, कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो र भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस्तै, बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामाबगर-रामेछाप सडकखण्ड सामाकोशी खोलाले कटान गरेपछि यातायात ठप्प भएको छ ।
त्यसैगरी, मुगुको छायानाथ रारा नगरपालिका-७ पिना खोलास्थित नाग्म-गमगडी सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
