- अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका आठ प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
- बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्तिलोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको छ ।
- मेची, अरनिको, कालीगण्डकी करिडोर, राँके-रवि-भेडेटार र आरुघाट-माछिखोला सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
रे समाचार/काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका आठ प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले यात्रुलाई सतर्कता अपनाउन तथा यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
त्यसैगरी मकवानपुरस्थित कान्तिलोकपथ मा पनि वर्षाका कारण अर्को सूचना नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो र गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोर, पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ कोप्चेस्थित राँके-रवि-भेडेटार सडक तथा गोरखाको धार्चे गाउँपालिका-७ लिदिङस्थित आरुघाट-माछिखोला सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन् ।
यसैगरी, ललितपुरको बागमती गाउँपालिका-३ पाङ्दुरस्थित कान्तिलोकपथ मा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम उच्च रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न, यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
