RayNewsDaily
झापाका २०० विद्यार्थीलाई विपद् व्यवस्थापन र सर्पदंश रोकथाम तालिम
  • झापाका २०० विद्यार्थीलाई विपद् व्यवस्थापन र सर्पदंश रोकथामसम्बन्धी तालिम दिइयो ।
  • नेपाली सेना र एनसिसी अलुम्नी एसोसिएसनले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास गराए ।
  • विपद्को समयमा सही निर्णय र प्राथमिक उपचार क्षमता विकास गर्ने उद्देश्य ।

रे समाचार/झापा । झापाका विभिन्न विद्यालय तथा क्याम्पसका २०० विद्यार्थीलाई लक्षित गर्दै विपद् व्यवस्थापन तथा सर्पदंश रोकथामसम्बन्धी सचेतना तथा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरराष्ट्रिय झापाली समाजको सहयोग तथा एनसिसी अलुम्नी एसोसिएसन झापाको समन्वयमा चारआलीस्थित अरिदमन गण ब्यारेकमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली सेना तथा एनसिसी अलुम्नी एसोसिएसनका प्रतिनिधिहरूले विपद् व्यवस्थापन र सर्पदंश रोकथामसम्बन्धी सैद्धान्तिक जानकारीसँगै व्यावहारिक अभ्याससमेत गराएका थिए । विद्यार्थीहरूलाई विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा सावधानी, उद्धारका आधारभूत उपाय तथा सर्पले टोकेको अवस्थामा गर्नुपर्ने प्राथमिक उपचारबारे प्रशिक्षण दिइएको थियो ।

अरिदमन गणका प्रमुख सेनानी सरोज थापा र अन्तरराष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाईँको उपस्थितिमा भएको कार्यक्रममा एनसिसी अलुम्नी एसोसिएसन झापाकी जिल्ला निर्देशक रेजिना बनले युवा पुस्तामा विपद् सामना गर्ने क्षमता विकास तथा जनचेतना अभिवृद्धिका लागि कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख सेनानी थापाले नेपालमा प्राकृतिक विपद् तथा सर्पदंशका घटना बढ्दो क्रममा रहेकाले समयमै सचेतना र व्यावहारिक सीप प्रदान गर्ने यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

आयोजकका अनुसार विद्यार्थीलाई विपद्का बेला सही निर्णय लिन, जोखिम न्यूनीकरण गर्न तथा सर्पदंशजस्ता आकस्मिक घटनामा तत्काल उचित प्राथमिक उपचार गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update