कीर्तिपुरमा जलेको कारबाट पुरुषको शव निकालियो
- कीर्तिपुरको ट्याङ्लाफाँटमा कारमा आगलागी हुँदा एक पुरुषको जलेको शव फेला ।
- शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएकाले पहिचान खुल्न बाँकी ।
- आगलागी भएको कार बैंकको नाममा दर्ता रहेको, घटनाबारे थप अनुसन्धान जारी ।
रे समाचार/काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा सोमबार बिहान आगलागी भएको कारबाट एक पुरुषको शव निकालिएको छ । स्थानीयका अनुसार बा५च ३०३८ नम्बरको कारमा अचानक आगलागी भएको थियो ।
आगो लागिरहेकै अवस्थामा प्रहरीले कारभित्रबाट एक पुरुषको शव निकालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शव पूर्ण रूपमा जलेको अवस्थामा रहेकाले मृतकको पहिचान खुल्न सकेको छैन ।
प्रारम्भिक अनुसन्धानबाट आगलागी भएको कार एक बैंकको नाममा रहेको खुलेको प्रहरीले जनाएको छ । घटनाको कारण र मृतकको पहिचानबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३ १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
