RayNewsDaily
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज ।  बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।  

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि कर्मचारीलाई नियमित कार्य सञ्चालन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज भएको उल्लेख गर्नुभयो । 

    उहाँले नेपाल सरकारले अघि सारेको सेवा प्रवाहमा सुधार, डिजिटल प्रशासन र नागरिकमैत्री सार्वजनिक सेवाको अवधारणाअनुसार काम गर्न नयाँ भवन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 

    गाउँपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै अध्यक्ष छब्बन खाँले नागरिकले आधुनिक, व्यवस्थित र नागरिकमैत्री वातावरणमा एउटै छानामुनिबाट सबै सेवा प्राप्त गर्ने बताउनुभयो । 

    उहाँले भन्नुभयो, “स्थानीय तह बलियो भए मात्रै सङ्घीय शासन व्यवस्थाको उद्देश्य पूरा हुन्छ त्यसैले नयाँ प्रशासनिक भवनले गाउँपालिकाको सेवा प्रवाहलाई अझ व्यवस्थित, छिटो, पारदर्शी र नागरिकमैत्री बनाइनेछ ।”
 
    गाउँपालिकाका अनुसार नयाँ भवनमा अत्याधुनिक प्रशासनिक कार्यालय, बैठक कक्ष, अभिलेख व्यवस्थापन कक्ष, सेवा केन्द्र तथा सेवाग्राहीमैत्री संरचना उपलब्ध छ । यसबाट सामाजिक सुरक्षा, प्रशासनिक सेवा, योजना सिफारिस तथा अन्य सार्वजनिक सेवा प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ । 

    वडा नं ६ का अध्यक्ष जगदीशप्रसाद हरिजनले नयाँ प्रशासनिक भवनले स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । 

    स्थानीय नागरिक मोहम्मद अहमद राईले विगतमा भवन अभावका कारण सेवाग्राहीले विभिन्न कार्यालय धाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै अब सबै सेवा एउटै भवनबाट उपलब्ध हुने भएकाले थप सहज हुने उल्लेख गर्नुभयो । 
 
    निर्माण कम्पनीको ढिलासुस्तीका कारण करिब छ वर्षदेखि अलपत्र परेको उक्त भवनको निर्माण हालै सम्पन्न भई सञ्चालनमा आएको हो ।  वि.सं. २०७९ मा सम्पन्न हुनुपर्ने भवनको केही काम भने अझै बाँकी रहेको गाउँपालिकाले जनाएको छ । 
     
    गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले रु चार करोड २२ लाख ८४ हजार ७१० लागतमा थेगिम–श्रीकृष्ण–निशान जेभी कोहलपुरले उक्त भवन निर्माण गरेको थियो । 

    तीन तलाको सो भवन अहिले आंशिक रुपमा मात्रै सञ्चालनमा आएको जानकारी दिँदै पूर्ण रुपमा सञ्चालनमा आउन अझै दुई महिना लाग्ने बताउनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update