RayNewsDaily
काठमाडौँमा चीनका चार प्रमुख महानगरका समकालीन चित्रकला तथा सुलेखन प्रदर्शनी सुरु

काठमाडौँ। नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले काठमाडौंमा चीनका चार प्रमुख महानगरका समकालीन चित्रकला तथा सुलेखन प्रदर्शनी सुरु भएको छ ।

काठमाडौँस्थित चीन सांस्कृतिक केन्द्र नेपालमा आयोजित प्रदर्शनीमा पैचिङ, थ्यानचिन, सांघाई र छोङछिङका प्रतिष्ठित कलाकारका कृतिहरू प्रदर्शित गरिएका छन् । हिजो बुधबार केन्द्रको कार्यालयमा लान्तिङ ग्यादरिङः पैचिङ, थ्यानचिन, सांघाई र छोङछिङका समकालीन चिनियाँ चित्रकला तथा सुलेखनको विदेश प्रदर्शनी औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

CHI01743-1784185773.jpg
 

प्रदर्शनीको संयुक्त आयोजना नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र, चाइना सेन्टर अफ इन्टरनेशनल कल्चरल एक्सचेन्ज एण्ड टुरिजम प्रमोसन तथा बेइजिङ चाइना मिलेनियम मोनुमेन्ट आर्ट फाउन्डेसनले गरेका हुन् । प्रर्दशनीमा चीनका चार प्रमुख महानगरका समकालीन चित्रकला तथा सुलेखनका ५० वटा कृर्तिहरुको प्रर्दशनी गरिएको छ । प्रर्दशनी यही जुलाई १५ देखि अगस्ट १५ सम्म चीन सांस्कृतिक केन्द्र नेपालको कार्यालय हुनेछ । 

CHI01708-1784185773.jpg

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका निर्वतानकुलपति नारदमणि हार्तम्छालीले कला दुई देशबीचको सांस्कृतिक कूटनीतिको महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले चिनियाँ कलाकारका उत्कृष्ट कृतिहरू नेपालमै अवलोकन गर्न पाउनु नेपाली कलाकार र कला प्रेमीका लागि दुर्लभ अवसर भएको उल्लेख गर्दै, यस्ता कार्यक्रमले नेपाल-चीनबीचको सांस्कृतिक सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । 

CHI01767-1784185774.jpg

चीन सांस्कृतिक केन्द्र नेपालका निर्देशक लिउ चानपिङले प्रदर्शनी मूलतः मध्यपूर्वमा आयोजना गर्ने योजना रहे पनि क्षेत्रीय परिस्थितिका कारण नेपालमा आयोजना गरिएको जानकारी दिनुभयो । शान्तिको भूमि तथा भगवान बुद्धको जन्मस्थल भएकाले नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानका लागि उपयुक्त केन्द्र बनेको उहाँको भनाइ थियो । साथै, कला नै दुई देशका जनतालाई अझ नजिक ल्याउने सबैभन्दा प्रभावकारी माध्यम रहेको उहाँले बताउनुभयो । 

CHI01751-1784185774.jpg
 

प्रदर्शनीका क्युरेटर तथा शिङह्वा विश्वविद्यालयका अनुसन्धानकर्ता शु हाङले पैचिङ, थ्यानचिन, सांघाई र छोङछिङका कलाकृतिले समकालीन चीनको सांस्कृतिक विविधता, सिर्जनशीलता र आधुनिक ऊर्जा प्रस्तुत गर्ने बताउनुभयो । नेपाल र चीनबीच हजारौँ वर्षदेखि कायम सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास व्यक्त गर्नुभयो

 CHI01772-1784185777.jpg

कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुले रिबन काटेर प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । यस्तै कार्यक्रममा नेपाली कलाकारहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । आयोजकका अनुसार प्रदर्शनीले चीनको परम्परागत चित्रकला र सुलेखनलाई समकालीन सिर्जनासँग जोड्दै नेपाल र चीनबीचको सांस्कृतिक संवादलाई अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ । नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा जारी यो प्रदर्शनी सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएको छ ।

 

CHI01822-1784185773.jpg

CHI01845-1784185772.jpg

CHI01862-1784185771.jpg

CHI01867-1784185771.jpg

CHI01850-1784185772.jpg

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update